– डिल्लीराज पाण्डेय
पानामाका सैनिक तानशाह नोरिएगा अमेरिकी डिजाइनमा हुर्किएका थिए । जब नोरिएगाको उपयोगिता सकियो तब उनलाई राष्ट्रपति भवनबाटै गिरफ्तार गरियो । १८ वर्ष आफ्नो नियन्त्रणमा राखेको अमेरिकाले पक्षघातबाट अशक्त नोरिएगालाई फ्रान्सलाई बुझायो ।
त्यसैगरी इराकमा सद्दाम हुसेन अमेरिकाद्वारा नै पालिएका थिए । इराकी जनता उनलाई संघर्ष तथा स्वाभिमानका प्रतिकका रूपमा सम्मान गर्थे । २४ बर्षे शासनकालमा उनमा अहङ्कार यति बढ्यो कि स्वतन्त्र कुवेतमाथि आक्रमण गर्न पुगे । हुसैन अन्ततः अमेरिकाद्वारा नै मारिए ।
फ्रान्सका सार्कोजी, सुरिनामका डेसी, जर्जियाका साकासिभ्ली तथा पेरूका भिज्करा मार्टिन यस्ता भ्रष्टाचारीहरू हुन् जसलाई सत्ताबाट बाहिर हुँदा कारवाही गरियो । सत्तामा हुँदा गरिएका काला कर्तुतहरूको पोल खुल्ने डरले पेरूका राष्ट्रपति गार्सिया तथा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिले त आत्महत्या नै गरे ।
प्रायः जुन शासकहरू अपराधी पृष्ठभूमिबाट उदाए तिनीहरूमध्ये अधिकांशको पतन हत्याबाटै भयो । यसर्थ ढिलो या चाँडो मात्र हो, सत्ता तथा शक्तिको भरमा गरिएका कुकर्महरूले तिनीहरूलाई अवश्य पोल्नेछ । तत्काल विजेता जस्ता देखिए पनि नहुँदो काम गर्नेहरू इतिहासमा पतन हुन्छन् ।
देश सुन्दर भएर मात्र हुँदैन, नेतृत्वमा दूरदर्शिता पनि चाहिन्छ । अदूरदर्शी नेतृत्व भएमा सुन्दर देशहरू कति छिट्टै खण्डहरमा परिणत हुन्छन् भन्ने प्रमाणहरू धेरै छन् । मुलकको समृद्धि तथा विनाश दुवैमा नेतृत्व कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्नमा यी केवल उदाहरण मात्र हुन् ।
जब नैतिक शक्ति र आत्मबल गुम्छ, आफ्नै छाँयासँग डर लाग्छ । डोरी पनि सर्प देखिन्छ । विचार, आदर्श र निष्ठा समाप्त भैसकेपछि नेतृत्वको मृत्यु बिषले होइन डरले हुने गर्छ ।
आज जिसस क्राइष्टका संसारमा अरबौं भक्त छन् । तर, जब उनी सुलीमा चढे उनका समर्थकहरूको भागाभाग भयो । यतिसम्म कि उनले निकै विश्वास गरेका र आफ्नै छायाँ मानेका पिटर समेत भागे । त्यति मात्र होइन कि पिटरले क्राइष्टसँगको आफ्नो सम्बन्ध दुर्भाग्यपूर्ण भएको बताए । तर क्राइष्टद्वारा नै सहयोग गरिएकी एक नगरबधु तथा लेजरस नामको अपराधीले क्राइष्टसँगै मृत्यु रोजे ।
यसर्थ कस्को पक्षमा कति मानिसहरूको भिड छ त्यसको इतिहासमा खासै अर्थ हुँदैन । मार्क्स, बुद्ध, एरिस्टोटल, प्लेटो कसैको पछि भिड थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैंँसधैँ बाँचेका छन्, पूज्य छन् । विचार, आदर्श, निष्ठा, संघर्ष र इमानको बाटोमा हिंड्नेहरू नै समाजको प्रेरणाका श्रोत हुन्छन् ।
यद्यपि लोकतन्त्र र प्रजातन्त्रको जामा लगाएर देश र जनता लुट्न माहिर शासक तथा त्यसका पिछलग्गुहरू भने यस्ता विषयहरू आउना साथ निधार खुम्च्याउँछन् । पद, प्रतिष्ठा वा सत्ता कसैको पनि स्थायी हुँदैन । तर विचार, आदर्श, निष्ठा, संघर्ष र इमानको बाटो भने सधैँ स्थायी रहन्छ ।
प्रकाशित मितिः मे १६, २०२५, ८ः१५ पिएम ।


Comments