केही हफ्ता अघिदेखि अस्ट्रेलियाका रेल्वे स्टेसन तथा भिडभाड हुने चोकहरूमा केही कार्यकर्ताहरू चुनावी पर्चाहरू बाँडिरहेका देखिन्छन् । तिनीहरूले हिँडिरहेका यात्रुलाई विनम्रतापूर्वक पर्चा लिन आग्रह गर्छन् । जवाफमा केहीले ती पर्चा खुरूखुरू लिन्छन् भने अरूले व्यस्तताको हाउभाउका साथ त्यसै मनोभावमा लिन अस्वीकार गर्दै आफ्नो गन्तव्यतिर दौडिरहेका हुन्छन् ।
त्यसैगरी उम्मेदवारहरू आआफ्ना एजेन्डाहरू प्रस्तुत गर्दै मतदाताको मन जित्न व्यस्त देखिन्छन् । विशेष गरी आयकर, महङ्गी, शिक्षा, स्वास्थ्य तथा जनसरोकारका अन्य विषयमा आफ्नो पार्टीको धारणा राख्दै कस्ले कुन शीर्षकमा कति बजेट छुट्याउने वा खर्च गर्ने भन्दै अनिर्णित मतदाताको मत खिच्न व्यस्त देखिन्छन् ।
यसका लागि नेताले टेलिभिजनमा आयोजित विभिन्न चरणका बहसमा भाग लिनुका साथै सामाजिक सञ्जाल तथा अन्य मिडियालाई समेत राम्रैसँग प्रयोगमा ल्याएको प्रष्टसँग अनुभूति गर्न सकिन्छ । जे होस्, आगामी मे ३ तारिखमा संघीय चुनाव हुने मिति तय भएदेखि नै अस्ट्रेलियाभर चुनावी माहौल राम्रैसँग तातेको देखिन्छ । फलस्वरूप आआफ्ना कर्ममा व्यस्त आम मानिस तथा हामीजस्ता आप्रवासीलाई चुनावी रौनकले भन्दा पनि हाम्रा सरोकारका विषयमा पार्टीले केकस्ता योजनाहरू सार्वजनिक गरे भन्ने विषयमा नै चासो बढेको प्रष्टसँग महसुस गर्न सकिन्छ ।
यो चुनावमा सत्तापक्षीय लेवर पार्टी दोश्रो कार्यकालका लागि प्रधानमन्त्री एन्थोनी अल्बानिजीको नेतृत्वमा होमिएको छ भने विपक्षी लिवरल र न्यासनल पार्टीको गठबन्धनको नेतृत्व लिवरल पार्टीका नेता पिटर डटनले गर्दैछन् ।
यसअघि सन् २०२२ को निर्वाचनमा ७७ सिट प्राप्त गर्दै झिनो बहुमतको सरकार गठन गरेको लेवर पार्टी पुनः सत्ता दोहोर्याउन प्रयत्नरत छ । यदि एन्थोनी अल्बानिजीले यो चुनाव बहुमतका साथ जिते भने सन् २००४ मा जोन हावर्डपछि लगातार दुई कार्यकाल बहुमतका साथ जित्ने प्रधानमन्त्री बन्नेछन् ।
त्यसैगरी गत चुनावमा ५८ सिटमा सीमित लिवरल तथा न्यासनल पार्टीको गठबन्धन लेवरको बर्चश्व तोड्न प्रयासरत देखिन्छ । यदि पिटर डटनले यसपटक जित हासिल गरेमा सन् १९२९ पछि पहिलोपटक एक कार्यकाल पूरा गरेको प्रधानमन्त्रीलाई सत्ताबाट बाहिर हटाउन सफल नेता बन्नेछन् । यीबाहेक अघिल्लो चुनावमा १६ सिट जितेका स्वतन्त्र तथा केही साना दलहरू यो सङ्ख्यालाई बढाउन तत्पर देखिन्छन् ।
चुनावी नतिजा जजसको पक्षमा रहे पनि तीन/तीन वर्षको अन्तरालमा हुने यो चुनावले अस्ट्रेलियाको ४८ औं संसदका लागि तल्लो र उपल्लो सदन गरी १ सय ९० जना सदस्यहरू निर्वाचित गर्ने कुरा भने पक्का छ । तीमध्ये तल्लो सदनका १ सय ५० र उपल्लो सदनका ७६ मध्ये ४० सदस्यहरू निर्वाचित हुनेछन् । अनि यिनले आगामी कार्यकालको नीति र योजना तर्जुमा गर्दै देशलाई दिशा दिने प्रयास गर्नेछन् ।
१६ वर्षअघि यो पङ्तिकार आप्रवासीको रूपमा कंगारूको भूमिमा छिर्दा केभिन रड देशका प्रधानमन्त्री थिए । त्यसपछि जुलिया गिलार्ड, टोनी एबट, माल्कम टर्नबुल, स्कट मोरिसन हुँदै अहिले एन्थोनी अल्बानिजी प्रधानमन्त्रीका रूपमा कार्यरत छन् । यस बीचमा लेवर र लिवरल दुवै पार्टीको शासनकालको भोक्ता हुने मौका पाइयो ।
यी शासनकालमा लेवर पार्टीभित्र रड र गिलार्डको लडाइँ देखियो । लिवरल पार्टीभित्र टोनी एबट र माल्कम टर्नबुलको घम्साघम्सीको साक्षी समेत भइयो । जेजस्ता लडाइँहरू भए पनि यी सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ताभोग हेतु प्रेरित थिए । अतः सत्ताप्राप्तिका दाउपेच र लडाइँहरू यहाँ पनि प्रशस्तै भएका थिए र हुनेछन् । शायद यो राजनीतिको कुरूप हिस्सा र सत्य हो । यद्यपि यो कुरा पनि सत्य हो कि ती दाउपेचका सीमा, व्यवहार र उद्देश्य समाजको हैसियत र नीतिउपर निर्भर थिए र रहन्छन् ।
फलस्वरूप बहुसांस्कृतिक देशका रूपमा चिनिएको अनि आप्रवासीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा सत्तासीन पार्टीका नीति, योजना र बुझाइहरूमा परिवर्तन देखिनु सकारात्मक पक्ष मान्न सकिन्छ । पहिलोपटक यो चुनावमा युवापुस्ताको वर्चश्वले नेतृत्वलाई मिलेनियल तथा जेन जी मतदाताको आवश्यकता इच्छालाई बुझ्न र सम्बोन गर्न प्रयत्नरत देखिन्छन् ।
मतदाताको म्यान्डेट र आवश्यकताको कदर गरिनु नै शायद लोकतन्त्रको सुन्दर उपहार मानिनुपर्छ । पहिलो पुस्ताका आप्रवासीहरू नेतृत्वको दौडमा देखिनु र पार्टीले तिनलाई प्राथमिकतामा राख्नु सकारात्मक पक्ष मान्नुपर्छ । यद्यपि पार्टीले तिनलाई कस्ता निर्वाचन क्षेत्रबाट टिकट दिए भन्ने कुराले पनि महत्व राख्दछ । एउटा पार्टीको गढ मानिएको क्षेत्रमा विपक्षमा उठाएर कतै तिनीहरू बलीको बोको त बनाइएका छैनन् ? के पार्टीहरू निष्पक्ष रूपमा टिकट वितरण गर्दै समाजको हरेक वर्गलाई समेट्न र योजनाहरू तर्जुमा गर्न तल्लीन छन् ? यी र यीजस्ता प्रश्नहरू विचारणीय छन् । त्यसैगरी राजनीतिमा होमिएका अनि हाम फाल्न इच्छुक आप्रवासीले यी सबै दाउपेचलाई बुझेर समाज रूपान्तरणको यो हतियारको सही प्रयोग गर्न र हाम्रा सरोकारका मुद्दाहरूलाई गम्भीरताका साथ पस्किन जरुरी देखिन्छ ।
नेतृत्वले यसलाई केवल सत्ताप्राप्तिको खुड्किलोको रूपमा मात्र नभई हाम्रो सरोकारको विषयलाई सम्बोधन गर्दै समाजको सही दिशानिर्देश गर्ने अस्त्रको रूपमा पनि प्रयोग गरुन् । चुनावमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा भाग लिएका सबैलाई हार्दिक शुभकामना !
प्रकाशित मितिः अप्रिल २७, २०२५ ।

Comments