अस्ट्रेलियाभर अप्रिल २५ लाई ‘एनज्याक डे’ अर्थात् अस्ट्रेलिया एण्ड न्यू जिल्याण्ड आर्मी कोर्प डेका रूपमा अङ्कित गरिन्छ । पहिलो विश्वयुद्धमा अस्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त सेनाको टोलीले टर्कीको ग्यालिपोलीमा उत्रेको दिनमा सम्झने प्रचलन छ ।
एक सय १० वर्षअघि आजकै दिन अस्ट्रेलिया र न्यू जिल्याण्डको संयुक्त सेनाको टोली टर्कीको ग्यालिपोलीमा उत्रेको थियो ।
पहिलो विश्वयुद्धमा करिब १ लाख अस्ट्रेलियालीहरूले ज्यान गुमाएका थिए ।
आज बिहान राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा करिब २४ हजार मानिसहरूले सहभागिता जनाएका थिए । उक्त भेलालाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सम्बोधन गरेका थिए । ‘युद्धमा बलिदान दिनेहरूको आत्मा अझै हामीमाझ महसुस गरिरहेका छौं । हामीलाई आशा छ, उनीहरूको बलिदानको योग्य बन्न सक्नेछौं ।’ उनले भनेका थिए ।
कार्यक्रममा अस्ट्रेलियाली नेभीका उपप्रमुख रियर एडमिरल म्याट बक्लीले नयाँ पुस्तामाथि आशा व्यक्त गर्दै यदि भविष्यमा कालो दिनहरू आएमा युवा तथा आगामी पुस्ताले आवश्यक पर्ने सही निर्णय गर्नेछ भन्ने भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘मेरो पछाडि रहेको रिमेम्बरेन्स वालमा कुँदिएका १ लाख ३ हजारभन्दा बढीको आत्मा सधैँभरि हामीमाझ रहिरहोस् जसले सर्वोच्च बलिदान दिएका थिए, लेस्ट वि फर्गेट ।’
एनज्याक डे मनाउने क्रममा आज बिहान सिड्नीको मार्टिन प्लेसमा पनि कार्यक्रम आयोजना गरिएको थियो । न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले वक्तव्यमार्फत् बलिदान दिएका सेना र उनका परिवारहरूलाई सम्झना गरेका थिए । ‘आजको पवित्र दिनमा ती एनज्याकहरूलाई सम्झना गर्दछौं, जसले त्यो दिनपछि पुस्तौंपुस्ता परिवारसहित सेवा दिइरहेका छन् । उनले भनेका छन् ।
‘रक्षा बलमा सेवा गर्दै आफ्नो ज्यानको बलिदान दिनुभन्दा ठूलो उदाहरण सार्वजनिक सेवामा अरू कुनै पनि हुन सक्दैन । लेस्ट वि फर्गेट ।’ उनले भनेका छन् ।
त्यसैगरी मेलबर्न, ब्रिसबेन लगायतका शहरहरूमा आज बिहान विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एनज्याक डे मनाइँदैछ ।

Comments