अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव निश्चित भएको कुरा समाचार संस्था एबिसीले जनाएको छ ।
यसबीचमा विपक्षी लिवरल पार्टीका नेता पिटर डटनले आफ्नो निर्वाचन क्षेत्रको सिट समेत गुमाएका छन् । क्वीन्सल्याण्ड राज्यको डिक्सन क्षेत्रमा उम्मेदवारका रूपमा उठेका पिटर डटनले विपक्षी लेवर पार्टीकी उम्मेदवार अली फ्रान्सँग हारेका छन् । हार स्वीकार गर्दै उनले प्रधानमन्त्री एन्थोनी अल्बानिजीलाई बधाई दिनुका साथै आफ्नो निर्वाचन क्षेत्रमा विजयी उम्मेदवार अली फ्रान्सलाई समेत बधाई दिएका छन् ।
यसैबीच प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आफ्नो विजयी भाषण दिँदै सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रूपमा काम गर्नु मेरा लागि सबैभन्दा गर्वको कुरा हो । आज अस्ट्रेलियन जनताले अस्ट्रेलियन मूल्यका लागि मत दिएका छन् ।’
विपक्षी नेता पिटर डटनलाई बधाई दिँदै उनले आगामी दिनमा अस्ट्रेलियाकाको बृहत्तर हितका लागि काम गर्ने बताए । हरेक अस्ट्रेलियनलाईहरूलाई समान अवसर दिने समेत उनले त्यसबखत् बताए ।
प्रकाशित मितिः मे ३, २०२५, १०ः१० पिएम


Comments