अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा घोषणा गरेकी छन् ।
आगामी सेप्टेम्बर ३० तारिखदेखि लागू हुने गरी राजीनामा घोषणा गरेकी वेबले सन् २०२२ देखि प्रहरी प्रमुखको पदभार सम्हाल्दै आएकी छन् । त्यसबखत् उनी न्यू साउथ वेल्स राज्यको पहिलो महिला प्रहरी प्रमुखका रुपमा नियुक्त भएकी थिइन् ।
कमिसनर क्यारेन वेबले आगामी मे १८ तारिखका दिन आफूले ३८ वर्ष प्रहरी सेवा पूरा गरेको दिन राजीनामा घोषणा गर्ने मनस्थिति बनाए पनि त्योभन्दा अघि नै यो घोषणा गरेको बताएकी छन् ।
‘सही समय कहिले थियो भन्ने मलाई थाहा थियो । राज्य सरकार आगामी दुई वर्षभित्रै चुनावमा जाने भएकाले मैले नयाँ कमिसनर नियुक्त गर्नका लागि यथोचित समय दिन खोजेकी हुँ । उनले भनिन् ।’
न्यू साउथ वेल्स राज्यका प्रहरी प्रमुख यास्मिन केट्लीले संसदमा बुधबार प्रहरी कमिसनर क्यारे वेब ३८ वर्षे प्रहरी सेवामा उल्लेख्य योगदान दिएको भन्दै राजीनामा पुष्टि गरेका थिए ।
प्रहरी कमिसनर क्यारेन वेबले सन् १९८७ मा प्रहरीमा भर्ना भएर न्यू साउथ वेल्स राज्यको सिड्नी तथा रिजनल क्षेत्रमा समेत कार्य गरेकी थिइन् ।
न्यू साउथ वेल्स राज्यका प्रिमिर क्रिस मिन्सले क्यारेन वेबलाई पथप्रदर्शक नेतृको रुपमा वर्णन गर्दै उनले सङ्कटका वेला सधैँ सामना गर्न तयार रहेको, प्रहरीमा यथेष्ट सुधार गर्न मद्दत गरेको र राज्यका सुरक्षाका लागि सदैव तत्पर रहेको बताएका थिए । ‘उनले राज्यको पहिलो महिला प्रमुख भएर मात्र होइन प्रहरीमा दीर्घकालसम्म रहिरहने यथेष्ट सुधार समेत छाडेर वस्तुगत योगदान छाडेर जाँदैछिन ।’ प्रिमियर मिन्सले भने ।
प्रकाशित मितिः मे ८, २०२५


Comments