बहुसांस्कृतिक देशमा सङ्घीय चुनाव र लेवरमय अस्ट्रेलिया

कोम खत्री

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन ।

एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको बुथमा गएर भोट हालेर आइयो । भोट त हालियो यद्यपि यहाँ नेपालमा जस्तो एउटा मात्र पार्टीको चुनाव–चिह्नमा छाप भने लगाउन पाइएन । मतदान केन्द्रहरू पनि शान्त र व्यवस्थित देखिए । चुनावी क्षेत्र वरपर न मासुभातको व्यवस्था थियो न पार्टीका झोला बोकेका कार्यकर्ताहरू एकअर्कासँग जुधाजुध र घम्साघम्सी गरेको नै हेर्न पाइयो । तैपनि यस्तो निरस र बेस्वादिलो चुनावी कार्यक्रममा भाग भने लिइयो । मनैबाट चासो लिएर चाहिँ होइन । मत हालिएन भने जरिवाना तिर्नुपर्छ भन्ने भयले मात्र ।

कारण जेजसो भए पनि चुनावमा उठेका सप्पै उम्मेदवारलाई मनपर्ने बढ्दो प्राथमिकताका आधारमा १, २, ३ गर्दै अङ्क लेखेर मतचाहिँ दिइयो । यसको मतलव आफूलाई सबैभन्दा बढी मन पर्नेलाई १, अलि कम मन पर्नेलाई २ गर्दै सबैभन्दा कम मन पर्नेलाई अन्तिम अर्थात् ७ नम्बर दिइयो । यहाँको ‘प्रिफरेन्सियल’ प्रणालीअन्तर्गत मत हाल्दा कुनै अङ्क छुटाएमा वा दोहोर्‍याएमा मत बदर हुने डरले केही समय लिएरै भए पनि जम्मैलाई अङ्क दिइयो ।

चाहे जुनसुकै क्रममा अङ्क दिइएको किन नहोस्, म बस्ने निर्वाचन क्षेत्रको चुनाव भने लेवरले जित्ने प्रायः निश्चित थियो किनकि यो क्षेत्र अर्थात् ‘ब्ल्याक्सल्याण्ड’ लेवरको सुरक्षित सिटमध्ये गनिन्थ्यो । त्यसैले त लेवर पार्टीको तर्फबाट जेसन क्लेयरले यहाँ सन् २००७ देखि लगातार सातौंपटक निर्वाचित भए । अघिल्लो संसदमा उनी शिक्षामन्त्री समेत थिए ।

त्यति मात्र होइन, सन् १९६९ देखि १९८४ सम्म ब्ल्याक्सल्याण्ड पल किटिङको क्षेत्र थियो । उनी पनि यहाँबाट हरेकपल्ट विजयी भए, अस्ट्रेलियाको २४ औं प्रधानमन्त्री समेत बने । अझ सन् १९४९ मा पहिलोपटक ब्ल्याक्सल्याण्ड निर्वाचन क्षेत्रको गठन भएदेखि यहाँ लेवरबाहेक अरू कुनै पनि पार्टीले चुनाव जित्न नसक्नुले यो क्षेत्र लेवरको गढ हो भन्नका लागि काफी छ । अरू वेला त त्यस्तै हो, निर्वाचन आयोगले चुनावी क्षेत्रका सीमाहरू वेलावेलामा हेरफेर गराउँदा समेत यहाँको निर्वाचन नतिजामा कुनै असर पार्न सकेन ।

अस्ट्रेलियामा धेरै निर्वाचन क्षेत्रहरू यस्तै छन् जहाँ एउटै पार्टीको पकड बलियो छ । लेवरको जस्तै लिवरलको पनि अनेक ‘गढ’ क्षेत्रहरू छन् । यी गढका नतिजा लगभग निश्चित हुन्छन् । यद्यपि चुनाव यहाँ मार्जिनल सिटहरूमा लडिन्छ । यहाँ मात्र होइन अमेरिकाको निर्वाचनमा पनि यो कुरा लागू हुन्छ । मार्जिनल सिटहरू त्यस्ता सिट हुन् जहाँ अघिल्लो निर्वाचनमा जित्नेले ५६ प्रतिशतभन्दा कमको मतान्तरले चुनाव जितेको हुन्छ । अर्थात् यी क्षेत्रहरूमा चुनावी नतिजा कुनै पनि पार्टी वा स्वतन्त्रको पक्षमा जान सक्ने सम्भावना रहिरहन्छ ।

फलस्वरूप गत पाँच हफ्‌तादेखि चलेको प्रचारप्रसारका क्रममा दुवै पक्षका नेताको मार्जिनल क्षेत्रहरूमा दौडधूप गर्ने सिलसिला खुब देखियो । प्रधानमन्त्री एन्थोनी अल्बानिजी तथा प्रमुख प्रतिपक्षी नेता पिटर डटनका अनेक एजेण्डाहरू सुनियो । वादविवाद हेरियो अनि एकआपसा लगाइएको आरोप–प्रत्यारोपको साक्षी समेत भइयो ।

जेजे देखियो र भोगियो त्यसको नतिजा हिजै बेलुकी आइपुग्यो अर्थात् लेवर पार्टीले बहुमतका साथ यो चुनाव जित्ने निश्चित भयो । अस्ट्रेलियाले आगामी तीन वर्षका लागि पुनः एन्थोनी अल्बानिजीका रूपमा प्रधानमन्त्री पायो । समाचार संस्था एबिसीका अनुसार लेवर पार्टीले लगभग ८५ सिट प्राप्त गर्ने निश्चित छ । शायद लोकतन्त्रको जित हुनु भनेको यही नै हो जहाँ जनमतका आधारमा सरकार गठन हुन्छ ।

विपक्षी नेता पिटर डटन आफै मार्जिनल सिटबाट चुनाव लडिरहेका थिए । यसको भेउ पाएर नै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आफ्‌नो चुनावी प्रचारप्रसार पिटर डटनकै सिट ‘डिकसन’ बाट शुरू गरेका थिए । चुनाव हार वा जितका अनेक कारणहरू हुन्छन् । त्यसको लेखाजोखा पनि विस्तारै आउँदै जानेछ । यद्यपि पिटर डटनले आफ्‌नो सिट समेत गुमाए । जनताले उनका एजेण्डाहरूभन्दा लेवरका एजेण्डालाई बढी प्राथमिकतामा राखे । आगामी दिनमा लिवरल पार्टीले यसबाट पाठ सिकेर योजनाहरू अवश्य तर्जुमा गर्ला ।

अस्ट्रेलियाको मूल राजनीतिमा नेपाली मूलका उम्मेदवारको उपस्थिति प्रशंसनीय छ । यसपटक मकारथर क्षेत्रबाट नेपाली मूलका उम्मेदवार विनोद पौडेल उठे । यद्यपि, जुन निर्वाचन क्षेत्रबाट उनीहरूले टिकट पाएका थिए, त्यो विपक्षी पार्टीको ‘सेफ सिट’ थियो । त्यसैले उनले जित्ने सम्भावना कमै थियो । त्यसमाथि प्रचारप्रसारका क्रममा लिवरलको कमजोर प्रस्तुतीले गर्दा उनले पनि जित्न सकेनन् । त्यहाँ पनि लेवरकै तर्फ मतदाताहरू आकर्षित भए । चुनावी प्रचारप्रसारका क्रममा नेपाली मूलका उम्मेदवारलाई नैतिक समर्थन र साथ दिनु एउटा कुरा हो । यद्यपि संघीय निर्वाचनमा प्रत्येक उम्मेदवारले आफ्‌नो क्षेत्रको सम्पूर्ण आकाशलाई समेट्न सक्नुपर्दछ । नेपाली मूलका मतदाताले भोट हाल्नका लागि नेपाली मूलको उम्मेदवार हुनु मात्र सम्पूर्ण मापदण्ड हुनुहुँदैन । लोकतन्त्रमा त्यसो गर्नलाई छुट त छ यद्यपि त्यसले केही हदसम्म हाम्रै संकीर्ण मानसिकताचाहिँ अवश्य झल्काउँछ । विशेष गरेर नेपाली मूलका अस्ट्रेलियन समुदायले यस कुरामा गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

निर्वाचनको मिति तोकिएदेखि नै चोकचोकमा उम्मेदवारहरूको पोष्टहरू देखेर मेरो १० वर्षे छोराले कौतुहताको सोधेको थियो, ‘यिनीहरू को हुन्, यिनको फोटो यहाँ किन लगाइएको छ ?’ मैले उसलाई प्रत्युत्तरमा चुनाव र प्रचारप्रसारसम्बन्धी खासै कुराहरू गर्न मनासिव ठानिनँ यद्यपि एउटा कुरा भने गम्भीरताका साथ भने– यी चोकचोकमा फोटो टाँसेका मान्छेहरू तैंले कतै भेटिहालिस् भने तिनीसित गएर सेल्फी नखिचाउनू ! सक्छस्, दुई चार प्रश्न सोध्नू, तैंले, तेरा बाआमाले वा साथीभाइले भागिरहेका समस्याहरू सुनाउनू । त्यति पनि सकिनस् भने देखेको नदेखेझैँ गरेर खुरूखुरू आफ्‌नो बाटो लाग्नू । अस्ट्रेलिामा डेढ दशकको समय बिताएपछि मैले कमसेकम जानेको लोकतन्त्र यत्ति हो ।

लोकतन्त्रमा हरेक निर्वाचनले केही न केही सन्देश अवश्य दिएको हुन्छ । यसपटक पनि दियो । यस सन्देशलाई सम्पूर्ण विजेता र उपविजेताहरूले पाठ सिकून् र आगामी दिनको योजना र समाजहितका लागि अघि बढ्दै जाऊन् ।

सबैलाई शुभकामना !

प्रकाशित मितिः मे ४, २०२५, ११ः५३ एएम

Comments

Related Post

फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा...

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन । एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको...

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव...