अस्ट्रेलियामा आगामी मे ३ तारिखका दिन संघीय चुनाव हुँदैछ । प्रत्येक तीन/तीन वर्षको अन्तरालमा हुने सो चुनावले अस्ट्रेलियाको ४८ औं संसदका लागि तल्लो र उपल्लो सदन गरी १ सय ९० जना सदस्यहरू निर्वाचित गर्नेछ । तीमध्ये तल्लो सदनका १ सय ५० र उपल्लो सदनका ७६ मध्ये ४० सदस्यहरू निर्वाचित हुनेछन् ।
चुनावमा लेवर पार्टीका तर्फबाट प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रो कार्यकालका लागि मैदानमा उत्रनेछन् भने लिवरल र न्यासनल पार्टीको गठबन्धनको नेतृत्व लिवरल पार्टीका नेता पिटर डटनले गर्नेछन् ।
यसअघि सन् २०२२ को निर्वाचनमा लेवर पार्टीले ७७ सिट प्राप्त गर्दै बहुमतको सरकार गठन गरेको थियो भने लिवरल तथा न्यासनल पार्टीको गठबन्धन ५८ सिटमा सीमित भएपछि सत्ताबाट हटेर विपक्षमा गएको थियो । त्यसैगरी बाँकी १६ सिट स्वतन्त्र तथा केही साना दलले प्राप्त गरेका थिए ।
प्रमुख पार्टीका मुख्य एजेन्डाहरू
लेवर पार्टी | लिवरल गठबन्धन | |
| १. अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या, आप्रवाश | प्रत्येक वर्ष २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू ल्याउने । प्रत्येक वर्ष भित्रिने आप्रवासी सङ्ख्यालाई सन् २०२६–२६ मा कटौती गर्दै २ लाख ६० हजार पुर्याउने । | सङ्ख्या कटौती गरेर प्रतिवर्ष २ लाख ४० हजार बनाउने । आप्रवासी सङ्ख्यालाई अझै कटौती गर्दै सन् २०२५–२६ मा १ लाख ६० हजारमा झार्ने । |
| २. आयकर | १८ हजार २०१ देखि ४५ हजार डलर सम्मको आयमा हाल १६ प्रतिशत आयकर लाग्ने नीति छ । यो करलाई आगामी आर्थिक वर्ष १५ प्रतिशत बनाउने । त्यसपछि सन् २०२७–२८ मा १४ प्रतिशतमा झार्ने ।
साथै ट्याक्स रिटर्न गर्दा एक हजार डलरसम्मको कामसम्बन्धी खर्चको लागि कुनै रसिदबिना कर छुट दिने । | हालको करनीतिमा कुनै पनि परिवर्तन नगर्ने यद्यपि फ्यूल ट्याक्स अर्थात् इन्धनमा लगाइने करलाई आगामी जुलाईदेखि आधा कटौती गर्ने । यसले प्रतिलिटर इन्धनमा २५ सेन्टसम्म बचत हुने दाबी । आगामी आर्थिक वर्षको ट्याक्स रिटर्नमा ४८ हजार डलरदेखि १ लाख चार हजारसम्म आय हुनेका लागि १ हजार दुई सय डलरको ट्याक्स अफसेट दिने । त्यसैगरी ४८ हजार डलरभन्दा कम र १ लाख ४ हजारदेखि १ लाख ४४ हजार डलर आम्दानी हुनेले त्योभन्दा कम छुट पाउने । |
| ३. स्वास्थ्य | जि.पीलाई ‘बल्क बिल’ गर्न प्रोत्साहित गर्नका लागि ८.५ अर्ब डलर छुट्याउने । महिला स्वास्थ्यको क्षेत्रमा ५७३ मिलियन डलरसम्म खर्च गर्ने । देशभर ५० वटा ‘अर्जेन्ट केयर क्लिनिक्स’ खोल्ने । | लेवरको ‘बल्क बिल’ र महिला स्वास्थ्यको नीतिलाई कायम राख्ने । त्यसैगरी मेडिकेयर अन्तर्गत साइकोलोजी सेसनलाई बढावा दिनका लागि ५० लाख डलर छुटयाउने । साथै ४० लाख डलर युवा प्याकेजअन्तर्गत छुट्याउने । |
| ४. हाउजिङ | सन् २०२७ सम्ममा १ लाख घरहरू निर्माण गरेर पहिलोपटक घर किन्नेहरूलाई सहयोग गर्नका लागि १० अर्ब डलर छुट्याउने । त्यसैगरी पहिलोपटक घर किन्नेहरूका लागि ५ प्रतिशत मात्र डिपोजिट राखेर ऋण दिने । यसअन्तर्गत बाकी रहेको २० प्रतिशतसम्मको ऋण सरकारले ग्यारेन्टी राखिदिने । योबाहेक ‘हाउजिङ अस्ट्रेलिया फ्युचर फण्ड’ अन्तर्गत १० अर्ब डलर छुट्याएर यो दशकभित्र १ लाख २० हजार घरहरू निर्माण गर्ने जसमध्ये ४० हजार घरहरू निम्न आय भएकाहरूलाई छुट्याइने । | पहिलो घर किनेर ६ लाख ५० हजारसम्मको मोर्गेज हुनेहरूका लागि पहिलो पाँच वर्षसम्म मोर्गेजको ब्याजमा छुट दिने । यो छुट एकल रूपमा वार्षिक १ लाख ७५ हजार र संयुक्त रूपमा २ लाख ५० हजारसम्म आम्दानी हुनेहरूका लागि दिइने । पहिलो घर किन्नका लागि सुपरबाट ५० हजार डलरसम्म निकाल्न पाउने नीति लागू गर्ने । |
| ५. रक्षा | सन् २०३० सम्म रक्षा बजेटलाई कुल जिडिपीको २ प्रतिशतबाट बढाएर २.३ प्रतिशतमा पुर्याउने । | रक्षा बजेटलाई सन् २०३० सम्म कुल जिडिपीको २.५ प्रतिशत पुर्याउने । |
कसरी गरिन्छ अस्ट्रेलियामा मतदान ?
अस्ट्रेलियामा १८ वर्ष पुगेका सबै नागरिकले अनिवार्य मतदान गर्नुपर्छ । मतदान गर्न नसकिने चित्तबुझ्दो जवाफ दिइएन भने जरिवाना समेत तिर्नुपर्ने हुन्छ ।
अस्ट्रेलियामा नेपालमा जस्तो मन परेको एकजना मात्र व्यक्तिलाई मतदान गर्ने चलन छैन । यहाँ चुनावमा उठेका सबै नेतालाई मन पर्ने बढ्दो प्राथमिकताका आधारमा १, २, ३…. गर्दै अङ्क दिएर मतदान गरिन्छ । यसलाई ‘प्रिफरेन्सियल’ प्रणाली भनिन्छ । उदाहरणका लागि यदि एउटा निर्वाचन क्षेत्रबाट ५ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् भने सबैभन्दा बढी मन परेको उम्मेदवारलाई १ अङ्क दिइन्छ । त्यसैगरी क्रमशः अलि कम मर्नेलाई २ गर्दै सबैभन्दा कम मन परेको उम्मेदवारलाई ५ अङ्क दिइन्छ । निर्वाचित हुनका लागि उम्मेदवारले कमसेकम कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ ।
यदि प्राथमिकतामा १ अङ्क दिएको उम्मेदवारले कुल खसेको सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्न सकेनन् भने सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेवादर चुनावी दौडबाट स्वतः बाहिरिन्छन् । त्यसपछि ती बाहिरिएका उम्मेदवारबाट २ अङ्क प्राप्त गरेको मतहरू बाँकी रहेका उम्मेदवारहरूमा जोडिदै लगिन्छ । यो प्रक्रिया तबसम्म चल्छ जबसम्म ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार फेला पर्दैन ।
त्यसैगरी सिनेटमा हरेक राज्यबाट १२ सदस्य निर्वाचित हुँदै जम्मा ६ राज्यबाट ७२ तथा दुईवटा टेरिटोरीबाट दुई/दुई गरी जम्मा ७६ सदस्यहरू निर्वाचनमार्फत् नै छनोट हुने गर्दछन् । सिनेटमा निर्वाचित हुनका लागि न्यूनतम मतको कोटा निर्धारण गरिएको हुन्छ र जजसले सो कोटा पूरा गर्दछन् उनीहरू निर्वाचित हुने गर्दछन् ।
मत बदर हुन नदिन ध्यान दिनुपर्ने कुराहरू
अस्ट्रेलियन इलेक्सन कमिसनका अनुसार गत संघीय चुनावमा ५ प्रतिशत मतहरू बदर भएका थिए । बदर हुने प्रमुख कारणहरूमा कुनै अङ्कलाई दोहो¥याउनु, छुटाउनु वा कुनै पनि अङ्क नलेख्नु रहेका छन् । कमिसनका अनुसार आफ्नो मत खेरा जान नदिनका लागि सबैभन्दा मनपर्ने देखि सबैभन्दा कम मनपर्ने उम्मेदवारलाई क्रमशः १, २, ३ गर्दै बढ्दो अनुपातमा सबै उम्मेदवारलाई अङ्क दिन बिर्सनु हुन्न ।
के हो ‘मार्जिनल’ र ‘सेफ’ सिट ?
अस्ट्रेलियन इलेक्सन कमिसनका अनुसार यदि कुनै पनि उम्मेदवारले कुल सदर मतको ५६ प्रतिशतभन्दा कम मत पाएर निर्वाचित भएका छन् भने त्यो निर्वाचन क्षेत्रलाई ‘मार्जिनल सिट’ भनिन्छ । यसको मतलव यी निर्वाचन क्षेत्रहरू विपक्षी उम्मेदवारहरूको पोल्टामा जाने खतरामा रहिरहन्छन् ।
त्यसैगरी यदि कुनै पनि उम्मेदवारले ६० प्रतिशतभन्दा बढी मत पाएर निर्वाचित भएका छन् भने त्यो निर्वाचन क्षेत्रलाई ‘सेफ सिट’ अर्थात् सुरक्षित निर्वाचन क्षेत्र भनिन्छ ।
१८ जना सांसदद्वारा अवकाश
यो संघीय चुनावसम्म लेवर पार्टीका ८ जना, लिवरल पार्टीका ७ जना, न्यासनल पार्टीका २ जना र स्वतन्त्र १ जना गरी जम्मा १८ जना सांसदहरूले अवकाश लिने घोषणा गरिसकेका छन् ।
प्रकाशित मितिः २१ अप्रिल, २०२५ ।

Comments